
काठमाडौं— सरकारले संसद्को जारी वर्षे अधिवेशन अन्त्यको तयारी गरेको छ । बिहीबार बिहान ११ बजे प्रतिनिधि सभाको वर्षे अधिवेशनको अन्तिम बैठक बस्ने माओवादी केन्द्रका संसदीय दलका नेता हितराज पाण्डेले जानकारी दिए ।
बुधबार सभामुख देवराज घिमिरेको नेतृत्वमा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । जसमा प्रतिनिधि सभा बैठकमा दलका प्रमुख नेताहरुले सम्बोधन गर्ने लगायतका कार्यसूचीको बारेमा छलफल भएको थियो ।
संसद् अधिवेशन अन्त्यका लागि औपचारिक रुपमा पत्र प्राप्त नभएपनि अनौपचारिक रुपमा अधिवेशन अन्त्यको जानकारी आएको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
अधिवेशन अन्त्यको दिन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने, चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू टेबुल गरिने, सभामुखले १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरूको सूचना सभाको स्वीकृतिको लागि पेश गर्ने लगायतका कार्यसूची रहनेबारे छलफल भएको प्रवक्ता गिरीले जानकारी दिए ।
एउटा अधिवेशन र अर्को अधिवेशनको बीचमा यति समय खाली राख्नुपर्छ भन्ने कुनै व्यवस्था नभएकोले संसद्को वर्षे अधिवेशन अन्त्य भएपनि आवश्यकताका आधारमा सरकारले हिउँदे बैठक आह्वान गर्न सक्ने माओवादी प्रमुख सचेतक पाण्डेले बताए ।
बिहीबार बिहान बस्ने मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यको निर्णय लिनसक्ने सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
बजेट अधिवेशनको रुपमा समेत रहेको वर्षे अधिवेशन यसअघि सामान्यता साउन भदौ महिनामा सकिने भएता पनि संसद्मा विचाराधीन केही विधेयक पारित गर्नका लागि बैठक लम्बाइएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन सुरु र अन्त्य गर्ने संविधानमा व्यवस्था रहेको छ ।













