
काठमाडौं — नेपालको राष्ट्रिय मानव अधिकार आयोग 'ए' श्रेणीमा कायम रहेको छ । मानव अधिकार आयोगहरूको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले गठन गरेको एक समितिले बुधबार नेपालको मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको हो ।
आयोग स्रोतका अनुसार गानरीको सब कमिटी अन एक्रिडिएसन (एसएसी) ले मानव अधिकार आयोग 'ए' श्रेणीमै रहने निर्णय गरेको हो । एसएसीले मानव अधिकार आयोगले आयोगसम्बन्धी ऐन निर्माणका क्रममा पदाधिकारी नियुक्ति पेरिस सिद्धान्तकै आधारमा गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरेको छ ।
मानव अधिकार आयोगका पदाधिकारीहरूको नियुक्ति विवादास्पद भएको भन्दै नेपालबाट नागरिक समाजको एक टोलीले आयोगलाई 'बी' श्रेणीमा राख्न गानरीमा सिफारिस गरेका थिए ।
केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा आयोगका अध्यक्षसहित पदाधिकारी नियुक्ति हुँदा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याई ५ सदस्यीय परिषदका ३ सदस्य मात्र उपस्थित भएर निर्णय गरिएको थियो । त्यस्तै उनीहरूको संसदीय सुनुवाइ पनि नभई नियुक्ति भएको थियो ।