News Griha :: न्यूजगृह
सामूहिक हत्या प्रकरण : पोस्टमार्टम भएको चार दिन भइसक्यो तर पीडित परिवारले शव बुझेन

मुगु— मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा भएको सामूहिक हत्या प्रकरणका पीडित परिवारले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकेको भन्दै मृतकको पोस्टमार्टम भएको चार दिनबितिसक्दा पनि शव बुझ्न मानेका छैनन् ।

मुन्दुगाउँमा सामूहिक हत्या भएको एक हप्ता भयो । प्रहरीले हालसम्म घटनामा संलग्नलाई प्रक्राउ गर्न सकेकोे छैन । मृतकहरुको शवलाई पोस्टमार्टमका लागि कात्तिक ११ गते जिल्ला अस्पतालमा मृतकका आफन्त र प्रहरीले जिल्ला अस्पतालमा ल्याएका थिए । 

अस्पतालमा कात्तिक १२ र १३ गते पोस्टमार्टम भएको हो । मृतकहरुको पोस्टमार्टम भए पनि हालसम्म प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी प्रक्रियामा ल्याउन नसकेको भन्दै पोस्टमार्टम भएको चार दिनपुग्दा समेत पीडितले शव बुझ्न नमानेका हुन् ।

कात्तिक ८ गते २८ वर्षीया श्रीदेवी बोहोरा, सात महिने छोरा रहर, ८ वर्षीया छोरी अप्सरा बोहोरा र ११ वर्षीय छोरा मनोजको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।

हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने आश्वासन दिए पनि हालसम्म कसैलाई पक्राउ नगरिएको भन्दै पीडितन परिवारले असन्तुष्टि जनाएका छन् ।

घटनामा संलग्नलाई प्रक्राउ गरी कानुनी प्रक्रियामा नल्याउँदासम्म शव नबुझ्ने पीडितहरुको अडान रहेको छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष मृतक श्रीदेबीका काका खेम रावलले बताए ।  

कर्णाली प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकाललगायत घटनास्थल पुगेर घटनाबारे बुझेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनाबारे सबै प्रक्रिया अपनाएर अनुसन्धान भइरहेको बताए ।

शवको पोस्टमार्टम भए पनि पोस्टमार्टम घरमा लामो समयसम्म राख्ने फ्रिजलगायत अन्य उपकरण नहुँदा शव गन्हाउन थालेको बताउँदै यसले अस्पताल क्षेत्रमा दुर्गन्ध फैलन थालेको जिल्ला अस्पतालका डाक्टर अर्जुन भामले बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १७:२७
Weather Update