गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको मृत्यु

काठमाडौं— संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।
असई ढुंगाना गुटरेसको सुरक्षाका लागि कात्तिक १२ मा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए ।
गुटेरेस हेलिकप्टरमा फर्किएपछि असई ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर फर्किँदै थिए । हिमालय भन्ने ठाउँमा गएराति बास बसेका असई ढुंगानालाई बिहान श्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरमा पोखरामा ल्याइएको थियो ।
तर पोखरा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । पर्वत निवासी असई ढुंगाना कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा रहेको प्रहरीचौकीमा कार्यरत थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८० ११:४२













