News Griha :: न्यूजगृह
राष्ट्रसङ्घका महासचिव गुटेरेसको हस्ताक्षर किर्ते गरी साढे २ करोड ठगी

काठमाडौं— संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको हस्ताक्षर किर्ते गरी ९० जनालाई ठगी गर्ने सुरुचि भुजेल जेल चलान भएकी छन् । जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । संयुक्त राष्ट्रसङ्घमार्फत टर्की पठाउने आश्वासन दिएर उनले पीडितहरूबाट अढाई करोडभन्दा धेरै रकम उठाएकी थिइन् ।

भुजेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गत महिना पक्राउ गरेको थियो । आइतबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर भएकोमा अदालतले थुनामा पठाएको हो ।

भूकम्पले क्षतिग्रस्त टर्कीका सहरको पुनर्निर्माणका लागि राष्ट्रसङ्घमार्फत लैजाने भन्दै सुरुचि लगायतले झुक्याएर ठगी गरेका थिए । महासचिव गुटेरेसले नै हस्ताक्षर गरेको कामको अफर देखाएर उनीहरूले पैसा उठाएका थिए । ९० जना पीडितले दुई करोड ५९ लाख ७९ हजार पाँच सय रुपैयाँ ठगी गरिएको भन्दै सीआईबीमा जाहेरी दिएका थिए । सोही आधारमा अनुसन्धान गरी सरकारी वकिल मार्फत मुद्दा दायर गरिएको सीआईबी प्रवक्ता एसपी नवराज अधिकारीले बताए । उनलाई सात वर्षसम्म कैद सजायको माग गरी मुद्दा दायर गरिएको थियो । 

प्रहरीले सुरुचिका श्रीमान् विनोद श्रेष्ठ तथा भाइ सुजन भुजेललाई पनि फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरेको छ । ठगीका मुख्य योजनाकार विनोद भएको प्रहरीले जनाएको छ । 

पीडितहरूले दिएको जाहेरी अनुसार यूएन टर्कीको लेटरप्याडमै राष्ट्रसङ्घका महासचिव गुटेरेसले नै हस्ताक्षर गरेको अफरलेटर देखाइएको थियो । सोही पत्रका आधारमा विश्वासमा परेर उनीहरूले पैसा बुझाएका थिए । मासिक एक हजार चार सय डलर तलब हुने र पीआरको समेत सम्भावना हुने भन्दै पैसा असुलिएको थियो । एक व्यक्तिले चार लाख रुपैयाँसम्म बुझाएका थिए ।   

पैसा बुझाएपछि ईभिसा समेत दिएका थिए । तर, त्यो पनि नक्कली भएको खुलेको छ । पछि श्रेष्ठ फरार भएपछि पीडितहरू प्रहरीकोमा पुगेका थिए । धेरै कारोबार सुरुचिको बैंक खातामार्फत भएकाले प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ११:११
Weather Update