
काठमाडौं— काठमाडौं जिल्ला अदालतले नक्कली प्रहरीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । ललितपुर गोदावरी नगरपालिका-६ टिकाभैरव घर भई काठमाडौंको टोखा नगरपालिका-११ भण्डारीटोल बस्ने २२ वर्षीय विश्व मल्ललाई अदालतले सोमबार पुर्पक्षको लागि कारागार पठाएको हो ।
उनलाई पुर्पक्षको लागि केन्द्रीय कारागार जगन्नाथदेवल चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । असोज ११ गते बिहान साढे ४ बजे उनले बाटोमा हिँडिरहेका सर्वसाधारणलाई आफू सिभिल घुमुवा प्रहरी हुँ तलासी लिनुपर्छ भनेर नक्कली परिचयपत्र देखाएका थिए ।
सर्वसाधारणलाई तलासी लिएर दुःख हैरानी दिएको खबर पाएपछि प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मल्ललाई फेला परी पक्राउ गरेको थियो । उनीबाट प्रहरीको नक्कली परिचयपत्र, स्कुटर र डिकीभित्र खुकुरी बरामद भएको थियो ।













