News Griha :: न्यूजगृह
गाजाको शरणार्थी शिविरमा विस्फोट, ५० जनाको मृत्यु

काठमाडौं— उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको विस्फोटमा परी कैयौँ मानिसको मृत्यु भएको छ । 

हमास शासित स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसियाली अस्पतालले विस्फोटमा परी कम्तीमा ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । 

इजरायली हवाई हमलाका कारण विस्फोट भएको मन्त्रालयले जनाएको छ । यद्यपि यो विस्फोटनबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन । विस्फोटनस्थलको भग्नावशेषबाट कम्तीमा ५० शव निकालिएको अधिकारीहरूले जनाएका छन् ।

मानिसहरू भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् । गाजा शहरको उत्तरी क्षेत्रमा अवस्थित जबलिया क्याम्प गाजाका आठ शरणार्थी शिविरमध्ये सबैभन्दा ठूलो हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जुलाई २०२३ सम्ममा १ लाख १६ हजार प्यालेस्टिनी शरणार्थीहरूले यहाँ दर्ता गराएका छन् । सन् १९४८ को युद्धपछि यहाँ शरणार्थीहरू आएर बस्न थालेका थिए । यो सानो तर सघन जनसंख्या भएको क्षेत्र हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०६:५७
Weather Update