जनकपुरधाम— सत्तारूढ नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन् ।
संघीय संसदको दुवै सदनले पास गरी दोस्रोपटक पठाइएको सो विधेयकलाई प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले नागरिकताविहीनहरूलाई नागरिकता दिने कानुनी प्रबन्ध गर्नुपर्ने उनको भनाइ छ ।
जनकपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता खाणले सो विधेयक प्रमाणीकरणका लागि आवश्यक वातावरण बनाउन सरकार र राजनीतिक पार्टीहरूको पनि ध्यानाकर्षण गराए ।
संविधानअनुसार संघीय संसदको दुवै सदनले पास गरी दोस्रोपटक प्रमाणीकरणका लागि पठाइएको सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै थन्किएर बसेको छ । सो विधेयक तत्काल प्रमाणीकरण गरी कानुनको अभावमा नागरिकता नपाएकाहरूलाई नागरिकता दिने कामको थालनी गर्नुपर्ने पनि नेता खाणले बताए ।
नेता खाणले संविधानको प्रावधानअनुसार नै आएकाले सो विधेयकलाई प्रमाणीकरण गर्न ढिलाइ गर्नुपर्ने कुनै कारण नरहेको जिकिरसमेत गरे ।
अर्को प्रसंगमा, नेता खाणले वैशाख १० गते हुने बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ को उपचुनाव सकिएलगत्तै सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो हुने गरी सत्तारूढ दलहरूले प्रदेश सरकार पुनर्गठन गर्ने बताए ।













