
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रित भएर सङ्क्रमणकालीन न्याय दिन आवश्यक रहेको बताए ।
मंगलबार संसद्मा महासचिव गुटेरेसको सम्बोधनपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रित भएर सङ्क्रमणकालीन न्याय पीडितहरूलाई उपलब्ध गराएर, छिटो समाधान गर्नुपर्ने बताए ।
उनले भने, ‘शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रित भएर सङ्क्रमणकालीन न्याय पीडितहरूलाई उपलब्ध गराएर, नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्का सुझावहरू समेतलाई ध्यानमा राखेर यसलाई समाधान गर्नुपर्छ, सकेसम्म छिटो समाधान होस भन्ने कामना गर्नुभएको छ । हाम्रो पार्टीले उहाँको सम्बोधनलाई धन्यवाद दिन चाहन्छु ।’
महासचिव गुटेरेसले नेपाल र नेपाली राष्ट्रको राम्रो मूल्याङ्कन गरेको बताए । गरिब देशहरूलाई सम्पन्न र धनी देशहरूले सहयोग समर्थन गर्नुपर्ने, संयुक्त राष्ट्रसङ्घमा जनाएका प्रतिवद्धताहरूलाई पूरा गर्नुपर्ने गुटेरेसको विशेष जोड रहेको उनको भनाई छ । ओलीले गुटेरेसको सम्बोधन संक्षिप्त र धेरै राम्रो रहेको बताए ।