News Griha :: न्यूजगृह
शान्ति प्रक्रियालाई टुंग्याउने काममा त्रुटि भएको छ : अध्यक्ष नेपाल

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको शान्ति प्रक्रिया टुंग्याउने क्रममा त्रुटि भएको टिप्पणी गरेका छन् ।

मंगलबार संसद्मा महासचिव गुटेरेसको सम्बोधनपछि संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले, नेपालले शान्ति प्रक्रियालाई टुंग्याउन ढिलाई भएको भन्दै प्रक्रिया टुंग्याउने काममा त्रुटि भएको बताएका हुन् ।  

उनले भने, ‘कहाँ त्रुटि भयो तपाईँहरू पनि खोजी गर्नुहोस् । वास्तवमा यति ढिलाई गर्न आवश्यक थिएन । विश्वका सामु जसरी हामीले एउटा उदाहरण प्रस्तुत गरेका थियौं । कि हामी आफ्नो द्वन्द्व आफैं समाधान गर्न सक्छौँ भन्ने उदाहरण । अनमिनले नेपालबाट बिदा लिएपछि फेरि युद्ध भड्किन्छ, रगतको खोलो बग्छ, जसरी भनेका थिए, त्यसलाई हामीले गलत हो भन्ने कुरा सावित गरेका थियौँ । त्यो हिसाबले पनि सिंगो प्रक्रियालाई टुंग्याउने काममा त्रुटि भएको छ ।’

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले विश्वलाई सकारात्मक सन्देश प्रवाह गरेको उनको भनाई छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १९:०६
Weather Update