News Griha :: न्यूजगृह
असल चालचलन भन्दै कैद मिनाहा, ६ महिना नपुग्दै फेरि पक्राउ 

काठमाडौं— कैद छुट पाएर जेल मुक्त भएका व्यक्ति ६ महिना पनि नपुग्दै पुनः पक्राउ परेका छन् । गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा ५० प्रतिशत कैद छुट पाएर कैदमुक्त भएका चितवनका ५५ वर्षीय रामचन्द्र थापा फेरि पक्राउ परेका हुन् ।

असल चालचलन भएको भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिले उनको बाँकी कैद छुट गरेका थिए ।  चितवन प्रहरीले मकवानपुरको हेटौंडा स्थायी घर भई भरतपुर महानगरपालिका-९ बस्ने थापालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।  प्रहरीका अनुसार थापाले अपरिचित नम्बरबाट फोन गर्दै कात्तिक ७ गते भरतपुर महानगरपालिका-१ का एक व्यक्तिलाई २५ लाख रुपैयाँ मागेको र नदिए अपहरण गरेर ज्यान लिने धम्की दिएका थिए ।

थापा डाँका मुद्दामा चार वर्ष ६ महिना ३ दिन जेल बसेर रिहा भएका हुन् ।  उनी विरुद्ध २०६६ जेठ २७ गते जिल्ला प्रहरी कार्यालय चितवन बाट चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । 

यस्तै, २०६६ असार ३ गते अवैध हतियार देखाई डाँका सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो भने २०७३ वैशाख २२ गते प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट लागूऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । यस्तै चौथो पटक २०७५ कार्तिक १३ गते जिल्ला प्रहरी कार्यालय चितवन बाट डाँका सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । 

थापालाई चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएकोमा मिति गत गणतन्त्र दिवसको अवसरमा ४ वर्ष ६ महिना ३ दिन कैद भुक्तान गरी कारागार कार्यालय भरतपुर, चितवनबाट बाँकी कैद आम पाएर छुटेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १८:५०
Weather Update