काठमाडौं— राष्ट्रिय सभाले मर्यादाक्रम निर्धारण गर्ने विधेयक सर्वसम्मतले पारित गरेको छ । गैरसरकारी विधेयकका रूपमा राष्ट्रिय सभाका सांसदहरूले दर्ता गरेको राष्ट्रिय मर्यादासम्बन्धी विधेयकलाई राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मर्यदाक्रममा सामान्य संशोधन गरेको थियो ।
राष्ट्र गानको प्रयोग, राष्ट्रपति, प्रधानमन्त्रीदेखि स्थानीय तहका वडा अध्यक्षसम्मको मर्यादाक्रम निर्धारण, शोक तथा सम्मानमा दिने सलामी, राष्ट्रिय झण्डाको प्रयोग लगायतका विषय समेटेर राष्ट्रिय सभाका सांसदहरूले गैरसरकारी विधेयक ल्याएका थिए ।
यसअघि विधेयक ल्याउँदा सांसदहरूले सभामुख र राष्ट्रिय सभा अध्यक्षपछि प्रधानन्यायाधीशको मर्यादाक्रम राखेका थिए । तर राष्ट्रिय सभाले संविधानको धारा २९३ मा भएको संवैधानिक परिषद्को व्यवस्था अनुसार प्रधानन्यायाधीशको मर्यादाक्रम माथि राखेका छन् । अबको मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाको अध्यक्ष हुनेछन् । सभामुख र राष्ट्रिय सभाका अध्यक्षको एउटै मर्यदाक्रम हुनेछ । तर दुबै सहभागी हुने कार्यक्रममा सभामुखको मर्यादा अघि र राष्ट्रिय सभाका अध्यक्षको लगत्तै हुनेछ ।
त्यसपछि पूर्वराष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायधीशको मर्यादाक्रम निर्धारण गरिएको छ । लगत्तै पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेताको मर्यादाक्रम कायम गरिएको छ ।
महानगरपालिकाका मेयरहरूको मर्यादाक्रम भने १७ औं स्थानमा पुगेको छ । राष्ट्रिय सभाले पारित गरेको मर्यादाक्रमसँग सम्बन्धित विधेयक अब प्रतिनिधि सभाबाट पनि पारित भएमा त्यसले कानुनी हैसियत प्राप्त गर्नेछ ।