
काठमाडौं— संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने कुराले शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
मंगलबार संघीय संसद्का दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै गुटेरेसले नेपालको अन्तिम दिशामा रहेको नेपालको शान्ति प्रक्रिया पुरा गर्न सङ्क्रमणकालीन न्याय निरुपण मार्फत सहयोग पुग्ने विश्वास व्यक्त गरे । तर यो प्रक्रिया त्यति सहज नभएको उनको भनाई छ ।
तर अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको आदेशको आधारमा नेपालमा शान्ति प्रक्रियामा भएको प्रगति र समाधान खोज्ने प्रयासलाई उनले स्वागत गरे । शान्ति प्रक्रियालाई टुङ्गामा पुर्याउन काममा नेपाल एक्लो नरहेको उनको भनाई छ ।
उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डहरू, सर्वोच्च अदालतको निर्णयहरू, र पीडितहरूको आवश्यकताहरू पूरा गर्ने गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन संयुक्त राष्ट्रसंघ तपाईंलाई सहयोग गर्न तयार छ।’
त्यस्तै उनले नेपाल र संयुक्त राष्ट्र संघ पुरानो मित्र भएको दोहोर्याउँदै गहिरो सहकार्य रहेको स्मरण गरे । उनले क्षेत्रफलका हिसाबले सानो भएपनि नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा खेलेको भूमिका महत्वपूर्ण भएको बताए ।
उनले भने, ‘यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ । पृथ्वीका सबै देशहरूमध्ये नेपाल संयुक्त राष्ट्र संघको मिसनमा सेना पठाउने दोस्रो ठूलो देश हो। नेपाली जनताको समर्पण, साहस र सेवाका लागि म हृदयदेखि कृतज्ञ छु ।’