
भोजपुर— व्यावसायिक किबीखेती भोजपुरका किसानको रोजाइको बाली बनेको छ । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । परम्परागतरूपमा गरिने आलु तथा मकैखेती भन्दा किबीखेतीबाट राम्रो आम्दानी लिन सकिने किसानले बताउने गरेका छन् ।
एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । विषेश गरेर पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको ४ नम्बर नागीको लुङ्गिन, वडा नं ५ को मझौले, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले यसको व्यावसायिक खेती गरिरहेका छन् ।
टेम्केमैयुङ–४ नागीमा व्यवसायिक रूपमा नै खेती विस्तार भइरहेको स्थानीय कृषक नवीन राईले बताए । आफूले एक सय ५० भन्दा बढी बिरुवा लगाएर व्यवसायिक रूपमा खेती गरिरहेको उनको भनाइ छ । मकै फल्ने बारी मासेर धेरै किसान यसको व्यावसायिक खेतीमा लागेको राईले बताए ।
‘किबीखेती किसानको रोजाइको बाली बनेको छ,’ उनले भने, ‘अन्य बाली हटाएर किबीखेती विस्तार भइरहेको छ । मकै, आलुखेती भन्दा किवीबाट राम्रो आम्दानी लिने गरेको छु ।’ सुरुमा इलामबाट बिरुवा ल्याएर खेती सुरु गरेको उनले जानकारी दिए। किवी लगाएको ठाउँमा पाखे अलैँची र खोर्सानीसमेत पनि खेती गर्न सकिने भएकाले दोहोरो फाइदा लिन सकिने राईले बताए । किबीखेती बाट वार्षिक छ लाखसम्म आम्दानी लिने अपेक्षा रहेको उनले बताए ।
टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीय किसान एकराज विष्टले किवीको व्यावसायिक खेती गरिरहेको बताए । विष्टले करिब १० रोपनी क्षेत्रमा तीन वर्षअघिबाट किबीखेतीको विस्तार गरेको बताए ।
‘वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक किबीखेती गरिरहेको छु,’ विष्टले भने, ‘राम्रो आम्दानी हुने भएपछि मैले व्यावसायिक खेती थालेको हुँ । फल लिनका लागि तीनदेखि चार वर्षसम्म लाग्छ । तर अन्य बालीको तुलनामा किबीखेती बाट राम्रो आम्दानी लिन सकिन्छ ।’
टेम्केमैयुङ गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रममार्फत कृषिको खेती विस्तारमा सहयोग गरिरहेको जनाएको छ । किसानलाई व्यावसायिक तथा आधुनिक खेतीमा लाग्न प्रोत्साहन गर्दै गाउँपालिकालाई कृषिमा नमूना बनाउने उद्देश्यका साथ काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्।
‘गाउँपालिकाको कृषि र पर्यटनको विकासमा योजनाबद्ध रूपमा कामको थालनी गरिरहेका छौँ,’ उनले भनिन्, ‘व्यवसायिक रूपमा कृषि कर्ममा लागेका स्थानीयलाई आवश्यक सहयोग गर्दै आएका छौँ । गाउँपालिकालाई कृषिमा नमूना बनाउने हाम्रो लक्ष्य छ ।’
किवीको राम्रो जातको पहिचान गरेर लगाएमा एक बोटबाट एक सयदेखि एक सय ५० केजीसम्म फलाउन सकिने स्थानीय कृषक रत्नबहादुर विष्टले बताए। पछिल्लो समय किबीखेती धेरै मानिसको रोजाइमा पर्ने बालीका रूपमा स्थापित भएको उनको भनाइ छ । गाउँघरका मानिस मकै, आलुखेती छाडेर व्यावसायिक किबीखेतीमा लागेको विष्टले बताए ।
किवी एक हजार पाँच सय मिटरदेखि दुई हजार चार मिटरसम्मको उचाइमा खेती गर्न सकिने किसानको भनाइ छ । व्यवसायिक खेतीमा लागेका किसानलाई सरकारले विषेश कार्यक्रम बनाएर प्रोत्साहन गर्न सके देशको आर्थिक विकासमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ । यहाँको भौगोलिक विविधतालाई ध्यानमा राखेर माटो अनुसारको खेती विस्तारमा ध्यान दिन आवश्यक रहेको किसानको भनाइ छ ।