
कञ्चनपुर— व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको आलुको बीउ वितरण गरेको छ ।
आलुखेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको कृषि विकास शाखाले एक सय २० किसानलाई एक सय क्विन्टल आलुको बीउ वितरण गरेको हो । वडा कार्यालयले तीन वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा संलग्न किसानको नाम छनोट गरी पठाएपछि सोही आधारमा आलुको बीउ वितरण गरिएको कृषि विकास शाखा प्रमुख करनसिंह बुढाऐरले बताए ।
‘छनोटमा परेका नगरपालिकाको १२ वटै वडाका आठ किसानलाई एक क्विन्टलको दरले आलुको बीउ वितरण गरेका छौँ,’ उनले भने, ‘वडाका दुई जना किसानलाई आलुको मूल बीउ एक सय ५० दानाका दरले वितरण गरिएको छ ।’ सिलबन्दी दरभाउ पत्रअनुसार खरिदकर्ताको छनोट गरी आलुको बीउ खरिद गरी किसानलाई वितरण गरिएको शाखा प्रमुख बुढाऐरको भनाइ छ ।
किसानलाई कार्डिनल, डिजिरे, जनकदेव, एमएस, खुमलटार रातो आलुको बीउ वितरण गरिएको छ । आलुको बीउ खरिदका लागि तीन लाख ६१ हजार रकम खर्च गरिएको छ । नगरपालिकाको वडा नं ३ को पिपलाडी, जोनापुर, वडा नं २ को लक्ष्मीपुर, वडा नं ४ को असैना, वडा नं ६ को कसरौल, वडा नं ८ को बेलडाँडी, वडा नं ९ को नौखरी, वडा नं ११ को कलुवापुर र वडा नं १२ को कालागौंडी क्षेत्रका किसानले व्यवसायिक रूपमा आलुखेती गर्दै आएका छन् ।
सबैभन्दा बढी बेलडाँडी, जोनापुर, पिपलाडी क्षेत्रका किसानले आलुखेतीलाई व्यवसायिक रूपमा गर्दै आएका छन् । कृषि विकास शाखाका अनुसार नगरपालिका क्षेत्रमा दुई सय हेक्टर क्षेत्रफलमा उन्नत जातको आलुखेती हुने गरेको छ । जसको उत्पादन प्रतिहेक्टर ११ मेट्रिक टन रहेको छ । उन्नत जातको आलुखेतीसँगै नगरपालिकामा एक सय हेक्टर क्षेत्रफलमा स्थानीय जातको आलुखेतीलाई किसानले निरन्तररूपमा अगाडि बढाउँदै आएका छन् । जसको उत्पादन छ दशमलव ५० मेट्रिक टन हुने गरेको छ ।
आलुखेतीलाई विगत एक दशकदेखि निरन्तररूपमा व्यवसायिक रूपमा गर्दै आएका नगरपालिकाका वडा नं ३ का किसान चेतराज चौधरीले नगरपालिकाले अनुदानमा आलुको बीउ वितरण गरेर किसानको हौसला बढाएको बताए । कृषि ज्ञान केन्द्रले पनि प्रत्येक वर्ष नगरपालिका क्षेत्रमा स्थानीय जातको आलुखेती गर्ने किसानलाई अनुदानमा आलुको बीउ र प्रविधिमा सहयोग पुर्याउँदै आएको छ । जिल्लामा सबैभन्दा बढी आलु उत्पादन हुने क्षेत्रका रूपमा शुक्लाफाँटा नगरपालिका परिचित रहेको छ ।