
बारा— कलैयामा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार रूपेश स्वर्णकारमाथि अज्ञात समूहले सोमबार दिउँसो करिब १ बजे तिर गोली चलाएको हो ।
उनको टाउको र छातिमा गोली लागेको छ । स्वर्णकार कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् । उनको अवस्था गम्भीर छ ।
मिठाई किनेर मोटरसाइकलमा विद्यालय फर्किरहेका बेला स्वर्णकारमाथि कलैया उपमहानगरपालिका— ६ मदर्शा टोलमा दिनदहाडै गोली प्रहार भएको हो । मोटरसाइकलमा सवार तीन जनाको समूहले स्वर्णकारमाथि गोली चलाएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बारा प्रहरीले जनाएको छ ।
उनीमाथि दुई राउन्ड गोली प्रहार भएको छ । प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि वीरगञ्जस्थित मेडिसिटी वयोधा अस्पतालमा लगिएको छ । गोली चलाउने व्यक्तिको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।