News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने गुटेरेसको प्रतिबद्धता

काठमाडौं— संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले सोमबार बिहान सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तरक्रिया गरे ।

Prabhu Bank

सोही अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा स्थानीयका सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने उल्लेख गरेका हुन् ।

उनले विश्वको प्रदूषण वृद्धिमा धनी देशको भूमिका रहेको तर खुम्बु पासाङल्हामु गाउँपालिका जस्ता दुर्गम स्थानमा नकारात्मक असर पर्नु दुःखद भएको बताउनुभएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताए ।

महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्या कम गर्नका लागि के गर्न सकिन्छ भनेर पहल गर्ने र उक्त सन्देश विश्वभरि लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

भेटमा स्थानीय समुदायले हिमनदी पग्लिने क्रम बढेको, जलवायुजन्य हानी/नोक्सानी बढेको, पानीका स्रोत सुक्दै गएको, स्थानीय बालीनालीमा जलवायुको असर परेको, नाङ्गा हिमालमा पानी पर्दा पहिरो जाने समस्या बढेको जस्ता विषय महासचिव गुटेरेसलाई अवगत गराएका अध्यक्ष अधिकारीले जानकारी दिए । साथै स्थानीयले गाउँमा ऊर्जाको अभाव रहेको र लघु जलविद्युत् आयोजना निर्माणमा सहयोगका लागि समेत आग्रह गरेका थिए । 

महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान काठमाडौं आएका हुन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १२:३९
राजनीति
विशेष
Weather Update