News Griha :: न्यूजगृह
नेपालको संसद्लाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय प्रतिनिधि गुटेरेस, पूर्वमहासचिव मुनले गरेका थिए ल्होत्से हलमा सम्बोधन 

काठमाडौं— संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई भोलि मंगलबार अपरान्ह ४ बजे सम्बोधन गर्ने भएका छन् ।

महासचिव गुटेरेस नेपालको संसद्लाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय प्रतिनिधि हुनेछन् । यसअघि नेपाल भ्रमणमा आएका राष्ट्रसङ्घका तत्कालीन महासचिव वान्की मुनले संसद्को ल्होत्से हलमा सांसदहरूको भेलालाई सम्बोधन गरेका थिए ।

त्यतिबेला संसद्को ऐन र नियमावलीमा त्यसरी सम्बोधन गर्ने व्यवस्था नभएकाले ल्होत्से हलमा सांसदहरूको भेलालाई सम्बोधन गर्ने प्रबन्ध मिलाइएको प्रतिनिधि सभाका प्रवक्ता (सहसचिव) एकराम गिरीले नेपाल न्यूूज बैंकलाई बताए ।

संविधान सभाले संविधान बनाएर घोषणा गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संघीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेका थिए ।

२०५० सालतिर भारतका तत्कालीन प्रधानमन्त्री इन्द्रकुमार गुजराल नेपाल भ्रमणमा आएका बेला पनि उनले संसद्लाई सम्बोधन गर्ने विषयमा छलफल भएको थियो । तर संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा नियमावलीमा त्यस किसिमको व्यवस्था नभएकाले नियम संशोधन गरेर भएपनि सम्बोधनको प्रबन्ध मिलाउने सल्लाह भएको सम्झन्छन् संसद्का तत्कालीन महासचिव सूर्यकिरण गुरुङ । 

तर किन हो गुजरालले सम्बोधन भने गरेनन् । उच्च तहका व्यक्तित्वहरू आफ्नो देशको औपचारिक भ्रमणमा आएका बेला सम्मानार्थ संसद्लाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको पूर्व महासचिव गुरुङले बताए ।  

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १२:०१
Weather Update