News Griha :: न्यूजगृह
ईसेवाको कर्मचारी भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं— ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, रौतहट गौर नगरपालिका–५ बस्ने २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, रौतहट गढिमाइ नगरपालिका–६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव, गौर नगरपालिका–५ बस्ने २० वर्षीय अभयकुमार यादव र गौर नगरपालिका–५ बस्ने २१ वर्षीय रितेश कुसवाहा रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेकाहरुले पीडितहरुलाई विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरी आफू ईसेवाको आधिकारीक कर्मचारी हुँ भन्दै ईसेवाको आइडी, बैङक खातासँग लिङकअप गराई खाता नविकरण, केवाइसी फारम अपडेट, सिष्टम भेरिफाई आदि गराई ठग्ने गरेको पाइएको छ । 

उनीहरुले सर्वसाधारणको खातामा भएको रकम विभिन्न बैङ्क खाता तथा वालेटहरुमा ट्रान्सफरलगायत भुक्तानीसमेत गरी १८ जनाबाट १५ लाखभन्दा बढी रकम ठगी गरेको खुल्न आएको छ प्रवक्ता रेग्मीले बताए । यस ठगीमा संलग्न उनीहरुलाई रौतहटका विभिन्न स्थानबाट पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आइतबार नै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  २०:३१
Weather Update