News Griha :: न्यूजगृह
महासचिव गुटेरेस र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं— नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार उनीहरूबीच शिष्टाचार भेट भएको हो । सो अवसरमा उनीहरूबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक  हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी छन् ।

महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे काठमाडौं आएका हुन् । उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

साथै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँगसमेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका छन् ।

भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् ।  मङ्गलबार अपराह्न ४ बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते काठमाडौंबाट प्रस्थान गर्नेछन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १६:४५
Weather Update