
काठमाडौं— नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुग्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको बताए ।
‘संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ,’ उनले भने, ‘संयुक्त राष्ट्रसंघ नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न तयार छ।’
उनले पत्रकार सम्मेलनमा बोल्दै नेपाल र संयुक्त राष्ट्रसंघबीचको गहिरो मित्रतालाई थप मजबुत बनाउन आफू काठमाडौं आएको पनि बताए ।