News Griha :: न्यूजगृह
नेपाल-भारत सीमा नाकामा कडाइ गरिने

वीरगन्ज— नेपाल-भारत सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमावर्ती नाकाबाट हुने अवैध निकासी र पैठारी नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ ।

पर्साको वीरगन्जमा बसेको नेपाल तथा भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमानाकाबाट हुने अवैध निकासी र पैठारी नियन्त्रण गर्न कडाइ गर्ने, लागूऔषध ओसारपसारलाई न्यूनीकरण गर्ने, चेलीबेटी बेचबिखन, अवैध हतियारको ओसारपसारलाई न्यूनीकरण गर्ने र आपराधिक घटना हुन नदिने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । 

यस्तै बैठकमा सिमानाकाबाट हुने अवैध वन्यजन्तुको चोरी सिकारी तथा तस्करीलाई नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीबीच समझदारी भएको प्रजिअ रेग्मीले बताए ।

भारतमा हुने आगामी लोकसभा निर्वाचनलाई मध्यनजर गरी सिमाक्षेत्रको सुरक्षा प्रबन्धलाई चुस्तदुरुस्त बनाउने र दुवै मुलुकका सुरक्षा अधिकारीबीच सहकार्य गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय भएको प्रजिअ रेग्मीको भनाइ छ । बैठकमा नेपालतर्फबाट पर्साका प्रजिअ रेग्मी र बिहारको पूर्वी चम्पारणका डिएम सौरभ जरुवालले नेतृत्व गरेका थिए । 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १४:०३
Weather Update