
काठमाडौं— इजरायल प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीचको द्वन्द्वमा नेपाली शान्ति सैनिक सामान्य घाइते भएका छन् ।
इजरायल–लेबनान सीमाक्षेत्रमा दुई पक्षबीचको आक्रमणका क्रममा लेबनानमा तैनाथ एक नेपाली शान्ति सैनिकलाई सामान्य चोट लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । ती शान्ति सैनिकको परिचय खुलाइएको छैन ।
उनको अवस्था खतरामुक्त रहेको प्रवक्ता भण्डारीले बताए । अक्टोबर २८ तारिख राति १० बजेर २० मिनेट (स्थानीय समय) मा उक्त घटना भएको उनले बताए । दुई पक्षबीचको आक्रमणका क्रममा प्रहार गरिएको सम्भावित 'आर्टिलरी/रकेट/मोर्टार'को ‘चोइटा’ले सामान्य चोट लागेको उनको भनाइ छ ।
उनका अनुसार लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको गणमा सेलको ‘चोइटा’ खसेको थियो । सबै शान्ति सैनिक बङ्करभित्र बसेका थिए ।
‘शान्ति सैनिक बङ्करभित्र थिए । अरू त्यस्तो ठूलो घटना भएको छैन,’ प्रवक्ता भण्डारीले भने ।
उनका अनुसार त्यसक्रममा शान्ति सैनिकका एउटा बंकर र एउटा गाडीमा सामान्य क्षति पुगेको छ । त्यसबाहेक शान्ति सैनिक र गणमा कसैलाई केही नभएको उनले बताए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपाली शान्ति सैनिकको पेट र हातमा सामान्य चोट लागेको जनाएका छन् । लेबनानमा ८७४ नेपाली शान्ति सैनिक कार्यरत छन् ।













