
काठमाडौं— नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमण राष्ट्रिय मुद्दामा प्रभावकारी ध्यानाकर्षणका लागि महत्वपूर्ण अवसर भएको बताएका छन् ।
उनले यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्न सम्पूर्ण राजनीतिक दल जिम्मेवार ढंगले प्रस्तुत हुनु पर्ने आवश्यकतासमेत औँल्याएका छन् ।
आइतबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा गिरिले राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमण अत्यन्तै ठुलो अवसर र ऐतिहासिक घटना भएको भन्दै यसको सदुपयोगका लागि सबै जिम्मेवार ढंगले प्रस्तुत हुन जरुरी रहेको बताए ।
जलवायु परिवर्तन, गरिबी न्यूनिकरणलगायतका विषयमा संसद्ले राष्ट्रसंघको गम्भीर ध्यानाकर्षण गराउनु पर्ने उनको भनाई छ ।
‘संयुक्त राष्ट्रसङ्घका महासचिव आएको बेलामा अहिले जुन ग्लोबल इस्युहरु छन् । जसले गर्दाखेरी नेपालले धेरै ठुलो कनर्सन राख्नुपर्ने मुद्दाहरू छन् । वातावरणका मुद्दाहरू, ग्लोबल वार्मिकका सबालहरू त्यसले नेपाल जस्तो राष्ट्रलाई पारेको प्रभावको कुराहरू छन्,’ उनले भने, ‘यस्ता मुद्दाहरूमा संयुक्त राष्ट्रसङ्घलाई गम्भीरताका साथ ध्यानाकर्षण गराउने र संयुक्त राष्ट्रसङ्घले नेपालको शान्ति प्रक्रियाको बारेमा गरेको सहयोगको बारेमा धन्यवाद दिने बाँकी रहेका कामहरूका बारेमा पनि हामीले स्पष्ट रुपमा राख्छौँ ।
आजै संसद् बैठक अघि सभामुखले, शीर्ष दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । सो बैठकमा पनि संसद्लाई कसरी प्रभावकारी बनाउने र राष्ट्रसङ्घका महासचिवको मङ्गलबारको सम्बोधनबारे समेत छलफल हुनसक्ने उनले जानकारी दिए ।