सँगै बसेर लागूऔषध सेवन, त्यसपछि साथीकै हत्या

काठमाडौं— धनुषामा धान खेतमा मृत भेटिएका युवकको हत्या लागूऔषध सेवन र मोबाइलको सामान्य विवादको कारण भएको खुलेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापाड घर भएका २४ वर्षीय रूपेश महराको साथीबाटै हत्या भएको दाबी प्रहरीको छ । प्रहरीले हत्या अभियोगमा जनकपुरधाम सोनापाडा बस्ने २० वर्षीय पवन सहनी र हरिचन मण्डललाई पक्राउ गरि सार्वजनिक पनि गरेको छ ।
हत्या गरिएको अवस्थामा रुपेशको शव गत बिहीबार बिहान धान खेतमा फेला परेको थियो ।
तीनैजनाले सँगै बसेर लागूऔषध सेवन गरेको र त्यसपछि मोबाइलको विषयमा भएको समान्य विवादको कारण बाँसको भाटा प्रहार गरि रुपेशको हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।
प्रहरीका अनुसार उनीहरूले बुधबार टेम्पोमा जटही हुँदै भारतको पारी बजारमा गई लागूऔषध नाइट्राभेट ट्याब्लेट किनेर सेवन गरेका थिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८० १०:५७













