
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज दिउँसो भेट गर्ने भएका छन् ।
आजै नेपाल आइपुगेका महासचिव गुटेरेसको भ्रमणको पहिलो दिन उच्चस्तरीय राजनैतिक शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले आज दिउँसो चार बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पौडेलसँग शिष्टाचार भेट गर्ने राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
यस्तै, आजै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत प्रमुख दुई राजनीतिक दलका नेताद्वय एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उच्चस्तरीय शिष्टाचार भेटसँगै उनले ललितपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रको अवलोकन गर्नेछन् ।
यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा नेपाल आएका गुटेरेसले आफ्नो महासचिवको दोस्रो कार्यकालमा चारदिने नेपाल भ्रमणमा आएका हुन् ।
१५ वर्षपछि उनले गरेको नेपाल भ्रमणलाई कूटनीतिक क्षेत्रले महत्वको साथ हेरिरहेको छ ।