News Griha :: न्यूजगृह
दुर्घटनामा प्रहरी जवानको मृत्यु

बारा— मोटरसाइकल दुर्घटनामा परी शनिबार प्रहरी जवानको मृत्यु भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको मृत्यु भएको हो ।

प्रहरीका अनुसार शनिबार बिहान निजगढ नगरपालिकाबाट वडा नं ८ बाट जितपुर सिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको सूचनापछि खोजी गर्दै जाने क्रममा उनी दुर्घटनामा परेका हुन् ।

आफैँले चलाएको ज १२ प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सुनारको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकी थप उपचारका लागि एलएस न्यूरो अस्पतालमा लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  ०७:०७
Weather Update