
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले टाउकाको मोल तोक्ने र मोल बुझाउनेहरू पटकपटक सत्तामा बस्दा पनि सङ्क्रमणकालीन न्यायको नाममा द्वन्द्वपीडितलाई थप पीडा दिने प्रयास भइरहेको आरोप लगाएका छन् ।
ललितपुरको मङ्गलबजारमा शनिबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा सभापति लामिछानेले राष्ट्र संघका महासचिव आउने बेलामा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तालाई लक्षित गर्दै व्यङ्ग्य गरे ।
सभापति लामिछानेले द्वन्द्वपीडितहरू देश बन्ने र न्याय पाउने पर्खाइमा बस्दा हिजो टाउकोको मोल तोक्ने र मतपत्रका माध्यमबाट बेथिति ल्याउनेले अहिले सङ्क्रमणकालीन न्यायलाई पटक पटक सत्तामा बस्दा पनि टुङ्गोमा नपुर्याएको भन्दै प्रश्न गरे ।
लामिछानेले भने, ‘सङ्क्रमणकालीन न्यायनिरूपणको नाममा अहिले फेरि नेताहरूका भेटघाट बढेको छ । अझ राष्ट्र संघका महासचिव आउनुभन्दा अघि नै सङ्क्रमणकालीन न्याय निरुपण गरिसक्ने रे भन्ने सुनिन्छ । हिजो टाउकाको मोल तोक्ने र बुझाउनेहरू त अहिले सरकारमा टाउकै जोडेर सरकारमा बसेका छन् । अहिलेसम्म कसले रोक्यो त ?’
लामिछानेले सुनौलो भविष्य र परिवर्तनको सपना देखाएर जनयुद्धमा हजारौं नागरिकलाई शहीद बनाउने माओवादीको सुनौलो सपना भनेको आफ्ना छोराहरूलाई सुन तस्करी गरेर सुनौलो बनाउने मात्र देखिएको बताए ।
उनले भने, ‘परिवर्तनको लागि हिजो कैयौँ युवाले शरीरमा गोली थापे । कति महिलाको सिउँदो उजाडियो, कयौँ टुहुरा, घरबार विहीन र विस्थापित, बेपत्ता भए । ती सबैले गोली थापेको, आफन्त गुमाएको सिन्दुर पुछेको, घरबार विहीन भएको आजका नेताहरूलाई क्विन्टलका क्विन्टल सुन ल्याएर तस्करको नाइके भएर घर ठड्याउनको लागि होइन, देश बनाउनको लागि थियो ।’