
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग उनले नेपाली जनताको आवश्यकता सम्बोधन गर्न उक्त भ्रमणबाट महत्वपूर्ण सहयोग मिल्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्र सङ्घका महासचिवले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए । महासचिवको भ्रमणलगत्तै कतारका राजा पनि नेपाल भ्रमणमा आउन लागेको जानकारी दिँदै दाहालले नेपालको कूटनीतिक सफलताको परिणामस्वरूप उच्चस्तरीय भ्रमण हुन लागेको बताए ।
'यसबीचमा मैले भारत, अमेरिका र चीनको भ्रमणको सन्दर्भमा जुन कूटनीतिक पहल भए त्यसैको परिणामस्वरूप संयुक्त राष्ट्र सङ्घका महासचिव र कतारका राजा नेपाल आउँदै हुनुहुन्छ,' प्रधानमन्त्री प्रचण्डले भने । चाडपर्वमा हुने चियापान कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्न मात्रै नभई देशको राष्ट्रिय राजनीतिलाई पनि स्थिरतातर्फ लैजान सघाउ पुर्याउने विश्वास प्रधानमन्त्री प्रचण्डले गरे ।