News Griha :: न्यूजगृह
दसैँमा काठमाडौं उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते

काठमाडौं— काठमाडौं उपत्यकामा यसपालिको दसैँमा तुलनात्मक रुपमा शान्तिपूर्ण वातावरण रहेको पाइएको छ । विगतका तुलनामा दसैँ शान्तिपूर्ण भएको र कुनै ठूला घटना, दुर्घटना  नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । 

फूलपाती यता शनिबार बिहानसम्म केही छिटफुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती, तथा दुर्घटना नभएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार शान्ति सुरक्षाका हिसाबले यसपालिको दसैँ विगतका वर्षहरूमा भन्दा सौहार्द्रपूर्ण रुपमा सकिएको छ ।

उपत्यकाका तीन जिल्लामा चाडबाड विशेष सुरक्षा योजना तयार पारी निगरानी गरिएको र सम्भावित जोखिम क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको थियो । तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर तीनै जिल्लामा सुरक्षा निगरानी गरिएको उनले जानकारी दिए ।

यद्यपि, कडा सुरक्षाका बीच पनि छिटफुट घटना भने देखिए । कात्तिक ४ गते फूलपातीदेखि शुक्रबार बिहानसम्ममा उपत्यकामा एक सय तीनवटा घटना भएका छन् । ती घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक सय १८ जना घाइते भएका मैनालीले जानकारी दिए । यसबीचमा २० वटा सवारी दुर्घटना हुँदा २८ जना घाइते भए । सवारी साधनहरू आपसमा ठोक्किएर ५१ वटा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ७३ जना घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो । 

प्रहरीका अनुसार कुटपिट र झैझगडाका १३ घटनामा एक जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् । चोरीका १० र धारिलो हतियार प्रहार सम्बन्धी दुई वटा घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जुवा तास खेलेको आरोपमा प्रहरीले काठमाडौंबाट सात, ललितपुरबाट १३ र भक्तपुरबाट दुई जना गरी २२ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ११:११
Weather Update