News Griha :: न्यूजगृह
अख्तियारको 'नक्कली' कर्मचारी पक्राउ  

बाँके— अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका– १२ घर भई हाल बाँके राँझामा डेरा गरी बस्ने ३७ वर्षीय मोहन कोइराला पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार पक्राउ परेका कोइरालाले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै सरकारी कार्यालय तथा विभिन्न संघ/संस्थाबाट सुविधा लिँदै आएका थिए ।

६ महिनादेखि नेपालगन्ज बस्दै आएका उनले ठगी धन्दा बाहेक अन्य कुनै काम वा व्यवसाय नगर्ने गरेको डीएसपी डाँगीले बताए ।सरकारी कार्यालयका कर्मचारी र विभिन्न संघ/संस्थाका मानिसहरूलाई रकम माग्दै सताउने क्रम नरोकिएपछि अख्तियारसम्म कोइरालाको बारेमा गुनासो पुगेको थियो ।

सोही गुनासोका आधारमा अख्तियारको बुटवल कार्यालय, नेपालगन्ज कार्यालय र बाँके प्रहरीको संयुक्त टोलीले कोइरालालाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  २०:४५
Weather Update