
काठमाडौं— संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबारदेखि कात्तिक १५ गते सम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।
भ्रमणका क्रममा महासचिव गुटेरेसले सङ्घीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधनसमेत गर्नेछन् । उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग सङ्क्षिप्त कुराकानी गर्ने कार्यक्रम पनि रहेको छ । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पर्यटकीय शहर पोखराको भ्रमण गर्नेछन् ।
महासचिवका साथमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्रसङ्घको टोली पनि सहभागी हुनेछन् ।
भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्डलगायतसँग भेटवार्ता गर्नेछन् ।सन् २०१७ जनवरीमा पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो ।