
काठमाडौं— परराष्ट्रमन्त्री एनपी साउदको अमेरिका भ्रमणतालिका सार्वजनिक भएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री साउदले कात्तिक १२ देखि १९ सम्म अमेरिकाको औपचारिक रूपमा भ्रमण गर्न लागेको जानकारी दिएको हो । अमेरिकाको विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालय दुवैले करिब एक महिनाभन्दा बढी समन्वय गरेपछि परराष्ट्रमन्त्री साउदको भ्रमणको औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।
मन्त्री साउदलाई सोमबार वासिङ्टन डीसीमा स्वागत गरेलगत्तै सोही दिन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता हुनेछ । परराष्ट्रमन्त्री साउद संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई आइतबार स्वागत गरेर द्विपक्षीय भेटवार्ता गरेपछि बेलुकी अमेरिका जाने भएका हुन् ।
मन्त्री साउद सन् २०१८ पछि अमेरिका भ्रमण गर्ने नेपालका उच्च पदाधिकारी हुनेछन् । सन् २०१८ डिसेम्बर १८ देखि २१ मा केपी शर्मा ओली नेतृत्वका सरकारका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको भ्रमण गरेका थिए । त्यस बेला उनले डोनाल्ड ट्रम्प प्रशासनका विदेशमन्त्री माइकल पम्पियोलाई भेटेका थिए । यस पटक साउदले जो बाइडेन प्रशासनका विदेशमन्त्री एन्टोनी ब्लिकेनसँग द्विपक्षीय भेटवार्ता गर्न लागेका हुन् ।
परराष्ट्रमन्त्री साउद केही समयअघि न्युयोर्कमा भएको संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै अमेरिकाका आएका थिए । उक्त समयमा साउदको व्यस्तता नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्धभन्दा पनि राष्ट्र संघको बहुआयामिक कूटनीतिमै केन्द्रित रहेको थियो । तर साउदले त्यस बेला पूर्वविदेशमन्त्री माइक पम्पियोसँग न्युयोर्कमा भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्धको बारेमा कुराकानी गरेका थिए ।