
काठमाडौं— युवाहरूबीच ग्याङ फाइट हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बूढा क्षेत्री छन् । दैलेख प्रहरीका अनुसार गएराति भैरवी गाउँपालिका–४ मा रहेको सिलङ्गी बजारमा दुई समुहबीच भएको सामान्य विवादमा झडप भएको थियो । मोटरसाइकलमा आएका केही युवाहरुले गाली गलौज गर्दै, अपशब्द बोल्ने गरेका थिए ।
सुन्न नसकिने अपशब्दका गाली गलौज किन गरेको भनी स्थानीयले सम्झाउन खोज्दा झडपको स्थिति आएको प्रहरी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिए ।
सोही क्रममा युवाहरूबीच झडप भएको हो । झडपमा घाइते भएका किशोरको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । मृत्यु भएका किशोर ससुराली गएका थिए । झडपका घाइते भएका भैरवी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाही दुल्लु अस्पतालमा सामान्य उपचार गरी डिस्चार्ज भइसकेका छन् ।
प्रहरीले घटनास्थलबाट बा ३३ प ७९५९ नम्बरको मोटरसाइकल बरामद गरेको छ । घटनाको अनुसन्धान र आरोपितको खोजी भइरहेको आचार्यले जानकारी दिए ।













