News Griha :: न्यूजगृह
बाँकेमा डीएसपीमाथि चक्कु प्रहार

बाँके— इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीमाथि चक्कु प्रहार भएको छ ।

कोहलपुर नगरपालिका–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डीएसपी तिवारीमाथि थापाले चक्कुको झटारो हानेका थिए । 

चक्कु लागेपछि डीएसपी तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी दिए ।
डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए ।

उक्त सूचनापछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा डीएसपी तिवारीलाई लागेको थियो। तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरी प्रवक्ता डाँगीले बताए ।

प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो। गएराति करिब ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए ।

परिवारको भनाइलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता डाँगीले थापाको मानसिक सन्तुलन नभएको बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १२:४७
Weather Update