भैरहवा— रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ निवासी २४ वर्षे अजयकुमार नाउ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत थिए । परिवारसँग दसैँ मनाउन उनी गाउँ आएका थिए ।
दसैँको अवसरमा गाउँ नजिकै लाग्ने मेला हेर्न गएका नाउ कहिल्यै नफर्कने गरी हराए । कात्तिक ७ गते दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर उनको मृत्यु भयो । उनीसँग अन्य दुई जनाको पनि सोही क्रममा मृत्यु भयो । मूर्ति विसर्जनका लागि नदीमा पुगेका अन्य दुई डुबेपछि उनीहरूलाई बचाउने क्रममा नाउले पनि ज्यान गुमाएका हुन् ।
कोटहीमाई गाउँपालिकाकै वडा–५ मा नजिकका गाउँमा बनाइएका मूर्तिहरू विसर्जन गर्ने चलन छ । दसैँको टीकाका दिन अमरगञ्जसहित अन्य गाउँका ल्याइएका मूर्तिहरू विसर्जन हुँदै थिए ।
प्रत्यक्षदर्शी राजदेव भरका अनुसार मूर्तिलाई पानीमा सेलाएपछि अजय भर र सन्तकुमार भरसहितका स्थानीय युवाहरू मूर्तिलाई पूरै डुबाउन भन्दै नदीको गहिरो रहेकोतर्फ जान थाले । 'अगाडि गहिरो थियो, त्यहाँ जाने क्रममा सन्तकुमार भर डुब्न थाले,' राजदेवले भने, 'अजयले उनलाई ताने, लगत्तै अर्का युवा अजय भर पनि डुब्न थाले, उनलाई जोगाउन सन्तकुमार र अजय नाउ अगाडि बढे, यसै क्रममा तीनजना नै डुबे ।'
दानव नदी गहिरो रहेको र तत्काल कोही पौडी खेल्न नजान्ने भएकाले तीनै जना नदीमा हराएको उनको भनाइ छ । दुर्गा मूर्ति विसर्जनमा गएका कोटहीमाई गाउँपालिका–१ बस्ने १८ वर्षीय अजय राजभर, २४ वर्षीय अजयकुमार नाउ र २० वर्षीय सन्तकुमार भरको मृत्यु भएको हो ।
तीनजना युवालाई गुमाएको अमरगञ्ज गाउँ त्यसयता शोकमा डुबेको छ । डुबेकामध्ये अजयकुमार नाउ र अजय भरको शव केही घण्टामै फेला परे पनि सन्तकुमार भरको शव करिब ४७ घण्टापछि मात्र फेला परेको छ । उनको शव फेला पर्दासम्म उनकै भाइ पर्ने अजय भरको त्रिवेणीमा र अजयकुमार नाउको दानव खोलामा अन्त्येष्टि भइसकेको थियो ।