News Griha :: न्यूजगृह
नढोगेको निहुँमा २० वर्षीय युवकको हत्या,  दुई जना पक्राउ

काठमाडौं— ढोग नगरेको भन्दै कुटपिट गरी हत्या गरेको आरोपमा सल्यान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सल्यान बागचौर नगरपालिका-७ स्यालागाउँका २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

कुटपिट गरी फरार भएका सन्तोषलाई दाङको तुलसीपुर उपमहानगरपालिका-१२ रझेना र केशरलाई बागचौर नगरपालिका-९ मौरीघारे परिलेखमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए । 

कात्तिक ४ गते दिउँसो बागचौर नगरपालिका-७ स्थित उपकार आधारभूत विद्यालयको खेल मैदानमा भलिबल खेल्न जम्मा भइरहेको अवस्थामा केशर ओली र शंकर ओलीले मादक पदार्थ सेवन गरी खुट्टा ढोग्न लगाउँदा घनश्यामले नमानेपछि मरणासन्न हुने गरी कुटपिट गरेका थिए । 

घाइते घनश्यामको भारतको नानपारामा उपचारका क्रममा बुधबार ८ गते मृत्यु भएको थियो । दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०६:०७
Weather Update