News Griha :: न्यूजगृह
रुकुम पुगेर प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धनको एकता र सहकार्य कसैले तोड्न सक्दैन, भ्रम नपाल्दा हुन्छ’

रूकुम पश्चिम—  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकारको एकता र सहकार्यलाई कसैले तोड्न नसक्ने ठोकुवा गरेका छन् ।

बिहीबार दिउँसो रूकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित ‘सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८०’ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनले पाँचै वर्ष निरन्तरता पाउने दाबी दोहोर्याएका हुन् ।

वर्तमान गठबन्धनले पाँचै वर्ष निरन्तरता पाउने उनको भनाई छ । 'यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो । तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन्। तर, उनीहरू सक्दैनन्। म तपाईँलाई जोड दिएर भन्छु, यो गठबन्धन पाँचै वर्ष जान्छ । गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन । कसैले भ्रम नपाल्दा हुन्छ,' प्रचण्डले भने  ।

जनयुद्धपछि ‘प्रचण्डपथ’ छाड्दा माओवादी विभाजन भएको उल्लेख गरेका प्रचण्डले राजनीतिमा विचार मुख्य कुरा हुने बताउँदै आफ्नै पथ रोकेकोप्रति दुःख मनाउ गरेका छन् । 'विचारको प्रश्न सबैभन्दा माथि हुन्छ । पहिला प्रचण्डपथ थियो, त्यसले हामी सबैलाई केन्द्रीकृत र एकीकृत गरेका थियौं। अहिले अलिकति अनेकता देखिएको छ। फेरि हामी विचार संश्लेषण गर्छौँ र नयाँ विचार सहित अगाडि जान्छौ,’ उनले भने  । 

त्यस्तै उनले कर्णालीको विकास आफ्नो प्राथमिकता रहेको एवं शान्ति प्रक्रियापछि रूकुमको मुहार फेरिएको धारणा राखे । उनले कर्णालीको विकासका निम्ति धेरै काम भएपनि त्यो पर्याप्त नभएको र आगामी दिनमा रूकुमको विकास उनले उच्च प्राथमिकतामा रहने समेत बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १८:३३
Weather Update