News Griha :: न्यूजगृह
१ सय ३२ दिनदेखि न्यायका लागि लड्दै एक परिवार, जो दसैँमा पनि धर्नामा छ 

काठमाडौं— बुधबार दिउँसो एक बजेतिर माइतीघर मण्डला पुग्दा एकै परिवारका चार जना खाना खान थाल थाप्दै थिए । 

दसैँमा हरेकको घरमा सबै परिवार बसेर सम्भव भएसम्म मिठो मसिनो खाने यो समयमा पनि धनुषाको नगराईन नगरपालिका–८ का विनोदप्रसाद साहको परिवार एउटा युवा समूहले दिएको खाना थापिरहेको थियो । 

aarati-family-3-1698244405.jpg

विनोद प्रसाद साह र निर्मलादेवी साह आफ्ना दुई सन्तान प्रेम र मनिषालाई साथमा लिएर छोरी आरती साहको न्यायको लागि माइतीघरमा धर्ना बस्न थालेको १ सय ३२ दिन पूरा भयो । 

दसैँ सडकमै बित्यो तर तिहार र छठमा भने आफ्नो घर फर्किने वातावरण बन्नेमा साह परिवार आशावादी छ । उनीहरूको एउटै माग छ, आरती हत्या प्रकरणमा पुन निष्पक्ष छानविन होस् । 

दसैँ पनि सडकमै बिताउनुको पीडा समेट्दै आरतीका भाइ प्रेम साहले भने, ‘के दसैँ के चाडवाड हामी त न्याय नपाएसम्म घर नफर्किने भनेर हिँडेका हौँ । न्याय नपाएसम्म घर फर्किने छैनौँ ।’ 

aarati-family-2-1698244405.jpg

तर सरकार निर्दयी बनेको उनको गुनासो छ । प्रशासनले दसैँमा पनि अनेक बहानामा बारम्बार दुःख दिएको उनले बताए । एकातिर आफन्त गुमाउनुको पीडा अर्कोतिर न्यायका लागि रातदिन सडककै बास चाडपर्व आएको/गएको पत्तै छैन साह परिवारलाई ।

आरतीकी आमाका आँखा ओभाएका छैनन् । कसैले केही सोध्यो भने केही बोल्दिनन् । आँशु मात्रै झार्छिन् । रोएर पीडा सकिँदो रहेनछ ।  गत जेठ ७ गते साँझ करिव साढे ६ बजे विनोदप्रसाद साहको मोबाइलमा फोन आयो । त्यो फोन उनकी छोरी आरती साहका ससुरा मदनमोहन साहको थियो ।

विनोदप्रसाद घरायसी कामले मोबाइल घरमा छोडेर बाहिर गएकाले पटकपटक फोन बजेको सुनेर विनोदकी कान्छी छोरी मनिषाले त्यो फोन उठाइन् ।

आरतीको स्वास्थ्य अवस्था खराब भएर जनकपुर अस्पताल लगिएको उनले मनिषालाई बताएका थिए । तर अस्पताल पुग्दा उनको मृत्यु भइसकेको थियो । 

aarati-family-1698244406.jpg

२२ वर्षीया आरतीको २२ महिना अघि मात्र मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाहीका मोतीबाबु साहसँग विवाह भएको थियो ।

विवाहमा मागेको २५ लाख रुपैयाँ दाइजो लिएको साह परिवारले पछि दाइजो कम भएको भन्दै आरतीको हत्या गरेको उनको माइती परिवारको दाबी छ । तर मृतक आरतीका परिवारले उनले आत्महत्या गरेको दाबी गर्दै आएको छ । 

मृतकका श्रीमान् मोतीबाबु साह, सासु रेणुदेवी साह, ससुरा मदनमोहन साह र देवर रवि साहले आरतीको हत्या गरेको माइती पक्षको जिकिर छ । 

दिदीको हत्याराहरू खुलमखुल्ला हिँडिरहेको र प्रहरी प्रशासनले समेत आफूहरूलाई असहयोग गरेको मनिषाको गुनासो छ । ‘सरकारले न्यायको प्रक्रिया मात्रै सुरु गरिदिए पनि तिहार अघि नै घर फर्किन पाइन्थ्यो,’ मनिषाले भनिन् ।

aarati-family-1-1698244406.jpg

आफूहरू गरीब भएकैले न्यायका लागि कसैले सहयोग नगरेको साह परिवारको गुनासो छ । राजनीतिक दलका नेतादेखि अधिकारकर्मीसमेत आएर न्यायका लागि पहल गर्ने आश्वासन दिएपनि अहिलेसम्म ठोस प्रगति नहुँदा उनीहरु निरास छन् ।

चाँडै सरकारले आफूहरूको पीडा बुझ्ने र न्याय पाउने आशा भने उनीहरूले मारेका छैनन् । आरतीको आत्महत्या नभई हत्या भएको ठहर गर्दै उनीहरूले हत्यारालाई कडा भन्दा कडा कारबाही र आफूमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गरेका छन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  २०:२०
Weather Update