News Griha :: न्यूजगृह
हृदयाघात भएपछि चीनमा अस्पताल भर्ना भएका गृहमन्त्री श्रेष्ठ स्वदेश फिर्ता 

काठमाडौं— उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वदेश फर्किएका छन् । चीनमा हृदयाघात भएपछि अस्पताल भर्ना भएका मन्त्री श्रेष्ठ पाँच दिने उपचार पश्चात डिस्चार्ज भएर घर फर्किएका हुन् । 

चीनको बेइजिङबाट छेन्दु हुँदै उनी बुधबार बिहान ११:३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । त्यसअघि उनी कात्तिक ३ गते स्वदेश फर्किने तालिका रहे पनि बिरामी भएर अस्पताल भर्ना भएपछि उनी ढिला गरी स्वदेश फर्किएका हुन् ।

बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयाघात भएको थियो । लगत्तै उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा भर्ना गरिएको थियो । एन्जियोग्राम गरेर हेर्दा मुटुको एकातर्फको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई स्टेन्ट राखेर खुलाइएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १४:४२
Weather Update