
काठमाडौं— ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सडकमै सुरक्षा सचेतता कार्यक्रम गरेको छ ।
काठमाडौंको कालिमाटी क्षेत्रमा १ सय ५०, कमलविनायकमा १ सय १०, नगरकोटमा ६०, सातदोबाटोमा ५७, थापाथलीमा ४८, सोह्रखुट्टेमा ४०, साँखु र कीर्तिपुरमा ३०–३० जनालाई सडक सचेतनामा सहभागी गराइएको थियो ।
त्यसैगरी नयाँ बसपार्क, कपन, भक्तपुर, नेपालटारमा २५–२५ जना, फर्पिङमा २०, काँडाघारीमा १७, कमल पोखरीमा १५ र टोखामा ९ सहित ६ सय ८६ चालकलाई सडक सुरक्षाको सचेतना गराइएको हो ।
कार्यक्रममा चालकलाई मादक पदार्थ सेवन, लागुऔषध सेवन र ढोका खुला गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसबाट हुने धनजनको क्षतिका विषयमा जानकारी गराइएको थियो ।
त्यस्तै तीव्र गति, आरक्षण सीट, रातो बत्ती, फुटपाथ पार्किङ, सडक लेनलगायतका विविध ट्राफिक नियम तथा कानुनका बारेमा पनि सजग गराइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
‘सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता अभिवृद्धि गर्ने उद्देश्यका साथ चालक लक्षित चेतनामूलक कार्यक्रम गरिएको हो,’ उनले भने ।
ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले समय अभावलाई मध्यनजर गरी अन द स्पोट चेतनामूलक कार्यक्रम गरिएको पनि उनले बताए ।













