
काठमाडौं— इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । फ्लाइ दुबईको विमानमार्फत उनीहरूको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री एनपी साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए ।
उनका अनुसार हालसम्म दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो । न्यौपानेको शव गएराति ल्याइएको थियो भने धामी र विष्टको शव आइतबार बिहान आइपुगेको हो । चौधरीको शव आइतबार दिउँसो २ः४० बजे नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए । उनीहरू गत भदौ १८ र १९ गते इजरायल पुगेका थिए ।
उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, धनुषा सापही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, डोटी लामीखाल-८ का पदम थापा र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपिन जोशी सम्पर्कविहीन छन् ।
आक्रमणमा परी मृत्यु भएका बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ ।













