News Griha :: न्यूजगृह
धादिङमा चारवटा भूकम्पको धक्का [अपडेट]

काठमाडौं— आइतबार बिहान तीन घन्टाको अन्तरालमा धादिङमा चारवटा भूकम्पको कम्पन महसुस गरिएको छ । आइतबार बिहान धादिङ, ज्वालामुखी-५ खरी केन्द्रबिन्दु गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । 

आइतबार बिहान काठमाडौं आसपासका जिल्लामात्र नभई चितवन र पर्वतमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।केन्द्रकाअनुसार यो नयाँ भूकम्प नभई २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्रबिन्दु गरी गएको भूकम्पकै परकम्पको निरन्तरता हो ।

पछिल्लो समय परकम्पको महसुस गरिएको थिएन। आइतबारमात्रै धादिङ केन्द्र गरी  ७:३९, ८:०८, ८:२८ र ८:५९ मिनेटमा  ४ वटा परकम्प भएको छ । सुरुको कम्पन ६.१ म्याग्निच्युडको रहेको र त्यसपछिको धक्का ४.२, ४.३ र ४.१ रहेको राष्ट्रि भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्काबाट मानवीय क्षति नपुगेको त्यहाँको प्रहरीले जानकारी दिएको छ । ज्वालामुखी-५ र ६ मा एक-एकवटा घरमा क्षति पुगेको विवरण प्राप्त भएको प्रहरी चौकी साँध भञ्ज्याङका इन्चार्ज गोकर्ण थापाले जानकारी दिए । भूकम्पको केन्द्रबिन्दु खरी, बूढीगण्डकी तटीय क्षेत्रमा जमिनमा चिरा परेको र केही ठाउँमा पहिरो चलेको गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्यालले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ११:३४
Weather Update