
काठमाडौं— इजरायलको किबुज अलुमिममा आतंकारी संगठन हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीमध्ये चार जनाको शव आइतबार बिहान काठमाडौं आइपुग्दै छ ।
कानुनी प्रक्रिया पूरा भएका चार विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो फ्लाइ दुबईको उडानबाट नेपाल पठाइएकोमा आइतबार बिहान ९ बजे आइपुग्न लागेको हो ।
इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायलबाट फ्लाइ दुबईको उडान नम्बर एफजेड– १२१० मार्फत् दुबईसम्म र त्यसपछि फ्लाइ दुबईकै उडान नम्बर एफजेड– ८३५१ मार्फत काठमाडौंसम्म पुग्ने गरी व्यवस्था मिलाइएको छ ।
इजरायलमा हमास समूहको आक्रमण परी दस जना नेपालीको निधन भएको छ। तीमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको शव ल्याइन लागिएको हो ।
अन्य शव पहिचानको काम क्रमशः भइरहेको दूतावासले जनाएको छ। त्यस्तै सम्पर्कबिहीन रहेका विपीन जोशीको खोजी कार्यमा आफ्नो प्रयास केन्द्रित गरिरहेको पनि दूतावासले उल्लेख गरेको छ ।













