News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकार डा. रूपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । 

सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत छन् । यसअघि सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । 

सापकोटा विश्व राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीतिक, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलाका जानकार छन् । उनले सन् २०१८ मा चीनको राजधानी बेइजिङस्थित रेनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी हासिल गरेका छन् । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको उच्चस्तरीय प्रतिनिधिमण्डलमा सापकोटालाई परराष्ट्रविदका रुपमा सहभागि गराइएको थियो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १६:४०
Weather Update