News Griha :: न्यूजगृह
राष्ट्रसङ्घका महासचिव गुटेरेसले कार्तिक १४ गते संघीय संसद्लाई सम्बोधन गर्ने

काठमाडौं— संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कार्तिक १४ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने तय भएको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई कार्तिक १४ गते अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण कार्यक्रमलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । गुटेरेसले कार्तिक १२ गतेदेखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमणका कार्यक्रम मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार नै संघीय संसद् सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसले कार्तिक १४ गते अपरान्ह ४ बजे सम्बोधन संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको र त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको संघीय संसद् सचिवालयका प्रवक्ता गिरीले जानकारी दिए ।

‘संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले २०८० कार्तिक १२ देखि २०८० साल १५ गतेसम्म गर्नु हुने नेपालको औपचारिक भ्रमणको कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत भएको र उक्त भ्रमणको सिलसिलामा उहाँले मिति २०८० कार्तिक १४ गते मंगलबार अपरान्ह ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले, सोका लागि आवश्यक व्यवस्थाका लागि अनुरोध भई सचिवालयलाई पत्र प्राप्त भएको छ,' गिरीले भने, 'अब संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधनका लागि संयुक्त बैठक बस्नुपर्ने भएकाले सो सम्बन्धी आन्तरिक तयारी गर्छौँ । यसबीचमा चाडपर्व पनि परेको छ । दसैँ परेको छ । लगत्तै हाम्रो आन्तरिक तयारी पनि हुनेछ ।'

महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनका क्रममा संसद्मा संवैधानिक निकायका प्रमुख, नेपालस्थित विदेशी नियोगका प्रमुखलगायत विभिन्न विशिष्ट व्यक्तित्वलाई संसद् सचिवालयले आमन्त्रणका लागि पत्राचार गर्ने कार्य गरिरहेको गिरीले बताए ।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघको ७८ औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १६:०८
Weather Update