
काठमाडौं— नेपाल प्रहरीमा साढे तीन सय भन्दा बढी सङ्ख्यामा भर्ना खुलेको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २६० जनाका लागि भर्ना खुलेको हो ।
दरखास्त फारम दर्ता मिति कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म तोकिएको छ । इन्स्पेक्टरको हकमा अनलाइनमार्फत् र असईको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्सालले आज निकालेको सूचनामा उल्लेख छ ।
इन्स्पेक्टरका लागि १ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । तर एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहको २० प्रतिशत (२४० रुपैयाँ) थप दस्तुर लाग्ने छ ।
असईमा ५०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि २० प्रतिशत (१०० रुपैयाँ)को दरले थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ ।
इन्स्पेक्टरका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने असईका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।














