News Griha :: न्यूजगृह
प्रचण्ड र देउवासामु ओलीको अडान– टीआरसी विधेयकलाई पहिले संसदीय समितिमा लैजानुपर्छ

काठमाडौं— संक्रमणकालीन न्याय निरूपण (टीआरसी) सम्बन्धी विधेयकलाई द्रूतमार्ग (फास्टट्याक) बाट पारित गर्ने विषयमा सत्तारुढ दल कांग्रेस र माओवादीबाट आएको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित उनकै कार्यकक्षमा शनिबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अध्यक्ष ओलीबीच विधेयकबारे छलफल भएकाे हाे ।

प्रमुख विपक्षी दलका नेता ओलीले टीआरसीलाई पहिले संसदीय समितिमा लैजानुपर्ने अडान राखेका थिए । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले भने,‘सदनका काम कारबाहीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा नै छलफल भयो, यो प्रारम्भिक छलफल हो, छलफल सकारात्मक छ, टीआरसीको विषयलाई समितिमार्फत लैजानुपर्ला ।’

प्रधानमन्त्री दाहालले द्रूतमार्गबाट पारित गर्ने प्रस्तावमा एमालेले नमानेपछि विज्ञको सहायतामा बीचको बाटो खोज्ने प्रयास भइरहेको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले भने,‘खासगरी यो टीआरसीसम्बन्धी वियेयक,संवैधानिक परिषद् र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई राष्ट्रको निम्ति जतिसक्दो चाँडो टुङ्ग्याउन जरुरी छ भन्ने विषयमा गम्भीर छलफल भयो, त्यसमा सहमति बनाउने भन्ने विषयमा सैद्धान्तिकरुपमा सहमत नै छौँ, तर यसका केही प्राविधिक पक्ष पनि छन् ।’ शीर्ष नेतृत्वमा सोही विषयमा चैत्र २८ गते पुनः छलफल हुने भएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  २०:२३
Weather Update