गाजामा सर्वसाधारणमाथि भएको आक्रमणको नेपालले गर्यो निन्दा

काठमाडौं— नेपाल सरकारले गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको हमलामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंगलबार गाजाको एक अस्पतालमा आक्रमण गरी निर्दोष नागरिकको ज्यान लिएको घटनाले स्तब्ध बनाएको उल्लेख गरेको छ ।
‘गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएको घटनामा नेपाल सरकार स्तब्ध भएको छ । अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौँ । साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा सर्वसाधारण नागरिक विरुद्धको यस आक्रमणलाई लिएर गम्भीर रूपमा चिन्तित भएको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८० १७:४६