News Griha :: न्यूजगृह
रास्वपा विदेशीको इसारामा चल्दैन : सभापति लामिछाने

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विदेशीको इसारामा चलेको पार्टी भन्नेहरूलाई बहस गरेर आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले रास्वपा नेपाली जनता बाहेक कसैको चन्दा, कसैको जुठो पिरो नखाने बाचा गरेर हिँडेको पार्टी भएको भन्दै विदेशीको इसारामा नचल्ने बताए ।

भने, ‘मैले बारम्बार भनेको छु, प्रमाणित गर्नुस् । आउनुस्, कहाँ बहस गर्ने ? जहाँ बहस गर्न पनि हामी तयार छौं । तर, भन्दिएको भरमा फलाना युरोपियनले चलाएको, इन्डियनले चलाको रे, अमेरिकनले चलाएको रे भन्दिएको भरमा हुन्छ ?’

लामिछानेले थपे, ‘आफ्नो पार्टी कार्यालयमा विदेशी नेताको फोटो र तस्बिर टाँसेर, दलको नाम विदेशी नाममा राखेर, नेपाली माटोमा नेपाली जनताले माया गरेर हुर्काएका, एकसेएक नेपाली आमाका सुपुत्र सुपुत्री बोक्न नेपाली जनता बाहेक कसैको चन्दा, कसैको जुठो पिरो नखाने बाचा गरेर हिँडेको पार्टी विदेशीको इसारामा चल्दैन, कसैको जुठो खाँदैन ।’ 

उनले मौकामा सडकमा गएर सरकारको विरोध गर्नुपर्थ्यो भनेर आफ्नो पार्टीलाई पम्प दिने काम भएको जानकारी दिए । विशेष अवस्थामा बाहेक पाँच वर्षमा एकपटक मत हाल्न लगाएर मतपत्रबाट जनताको सबै काम गर्ने उनको जिकिर छ ।

उनले भने, ‘मलाई र हाम्रा दलका नेताहरूलाई यस्तो मौका गुमाउनुभयो । मौकामा सडकमा आएर सरकारको विरोध गर्नुपर्थ्यो र तपाईंले भन्यो भने माइतीघरमा सबै आउँछन् भनेर धेरैले आएर पम्प हाल्ने काम गरे । विशेष अवस्थाभन्दा बाहेक हामी तपाईँहरूलाई बाहिर ल्याउन चाहँदैनौं, आफ्नो काम गर्नुस् ।’ 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १४:५५
Weather Update